"म चै सोच्दै थिएँ, के भन्नु रे छ त उस्को मलाई?" ---
त्यो साँझ बाङ्गे आएन म कहाँ। भोली पल्ट बिहानै आयो।
"तँ त बेपत्ता भईस नी" मैले उसलाई दुई चार दिन देखि भेटन मुस्किल पर्या कुरो सम्झाएँ।
"एका तिर ठाउँमा पुग्न अर्को तिर बेपत्ता त हुनै पर्यो नी" उस्ले हाँसेर भन्यो।
"अनि त्यो ठेगानको एकातिर चैं कता हो?" मैले सोधें।
"बालुवाटार -- त्यो प्रधानमन्त्रीको निवास बाट अलिकति उकालो लागे पछि दाईने तिर जाने बाटो छैन? हो त्यहीँबाट अलिकति अगाडी लागे पछि ठेगानमा पुगिने रहेछ।" उस्ले सुनायो।
"के त्यो सजलदाईको घर भए तिर?" मैले सोधें।
"सजलदाईको घर संगै भने पनि हुन्छ" उस्ले भन्यो।
"अनि हिंजो तैले म सँग के कुरा गर्नु च भन्या?" मैले हिंजो उस्ले भन्या कुरो सम्झाएँ।
"कुरै यही त हो नी" बाङ्गेले भन्यो।
"के?" मैले बुझिन।
"सजलदाईकहाँ पुर्याईदिनु पर्यो तैले मलाई" उस्ले भन्यो अनि थप्यो "यार यस्तो कुरा गर्दा त चुरोट तानेर गर्न एकदम मजा आउँछ अझ ट्वाँट र चुरोट भए त झनै मजा नभए चिया सँगै भए पनि --"
"यो कोठाँ चुरोट त तान्या तानेई हो अब -- त्यो धुप सुपको लेठो गर्न सक्दिन म --झंझट पनि टेन्सन पनि -- तान्ने भए हिन बाहिर--उता गणेशथान तिर जाम" मैले भनें।
"छोडदे भैगो -- च्या ख्वा बरु ल जा" उस्ले भन्यो। त्यसको बन्दोबस्त गरेर म आएँ र सोधें "अनि यत्तिका दिन सम्म के गरीस त?"
"हेर बाबु, गार्हो भनेकै ए बि सि डी चिन्न हो -- जे पनि सुरुमै त हो गार्हो हुने -- त्यै ए बि सि डी मा लाग्या थिएँ -- सुत्र लाउनु परेन? एउटा गतिलो खबर नल्याई तँलाई भेटेर के सुनाउने?-- त्यो तरुनीको घर पत्ता लगाउने चक्करमा अलि अलि बरालिनु पर्यो र?" उस्ले हलुका मुस्कान सँग आफ्नो कुरा भन्यो।
"सजलदाई कहाँ गएर के गर्ने?" मैले सोधें।
"तँ मलाई त्यहाँ पुर्या मात्रै न -- त्यहाँबाट कसरी अगाडी बढ्ने त्यो मलाई थाह् छ" उस्ले भन्यो।
"सजलदाई कहाँ हाम्रो परिबारको राम्रै आवत जावत थियो। मेरो बाउ पट्टीका मान्छे थिए उनीहरु। म सँग बाङ्गे पनि पुग्या थ्यो त्यहाँ एक चोटी।
चिया आयो यही बिचमा अनि हामी चुस्कि लिंदै थिएम। एउटा कुरो मेरो मनमा छ्यास्स आयो। बाङ्गेलाई नसोधी हुन्नथ्यो उस्लाई सजलदाई कहाँ लाने नलाने बाचा गर्नु अघि।
"तँ प्रियाको धुनमा त हैन त?" मैले सोधें।
"किन हैन? प्रियाकै धुनमा त हो त" उस्ले भन्यो।
"लात खान मन लाग्यो तँलाई?" मैले सोधें।
"किन?" उस्ले पनि सोध्यो।
"बौलाईस कि क्या हो? तँ प्रियालाई ताक्ने अनि म चै तँलाई सजलदाई कहाँ पुर्याउने -- तँलाई त पिस्छन पिस्छन मलाई पनि बाँकी राख्दैनन" बांङ्ग्या कुरा मलाई पटक्कै मन परेन।
"किन र? सजलदाई पनि त्यै तरुनीको भजनमण्डलीमा? बुढाले बोरै गरेनी त -- तर तैंले कसरी थाह् पा नी?" उस्ले अचम्म मान्दै सोध्यो--म पनि एक निमेषलाई त छक्क परें। अनि कुरा बुझें। हाँस पनि उठ्यो।
"मान्छेलाई यहाँ लभै नपरी ट्र्याजिडी पर्ला जस्तो भै सक्यो, उल्टो हाँस्दा त" उस्लाई मेरो हाँसो मन परेन।
"प्रिया त प्रिया, मैले चै सजलदाईको बैनीको कुरा गर्या --त्यै सजलदाईको बैनीलाई बल्छि हाल्न ला हो कि तैले भनेर सोध्या मैले-- तैले भन्या तरुनी अर्कै रे छे -- त्यो तरुनीको नाम पनि प्रिया?" मैले सोधें।
"त्यै त -- त्यो सजलदाईको बैनी पनि -- " उस्ले आफ्नो कुरा रोक्यो --अनि थप्यो "काँ सजलदाईको बैनी सैनीको कुरा गरीरा? त्यस्तो आफु चढ्नला रुखाँ नी बन्चरो हान्छु र म?" त्यो तरुनीको नाम प्रिया हैन।
"के रे त?" मैले सोधें।
"निशिन्ता रे" उस्ले भन्यो। त्यो तरुनीको नाम भन्दा उस्को अनुहार झिलिक्क चम्केको थ्यो।
"निशिन्ता रे? कहिलेई नसुन्या नाम --निशिन्ता भन्या के? मैले सोधें।
"निशिन्ता भन्या तरुनी --अरु किन चाहियो? मैले राख्या नाम हो र मलाई सोध्न लाई?" उस्को अनुहारमा अघिको झिल्का हरायो।
"ए तँ दिउँसो वालुबाटारबाट गैर्हीधारा तिर गा थिस? " मैले दिउँसोको कुरा सम्झेर उस्लाई सोधे।
उस्ले एकटक म तिर हेरेर भन्यो "यता र उताको कुरा गर्ने हैन --सजलदाई कहाँ कति बेला जाने त्यो कुरा गर्न--"
कहिले जाने पनि नभनेर कति बेला जाने भन्छ बाङ्गे त। भने पछि आजै जानु पर्ने रे छ।
"तँ सँग मोटरसाईकल छ अझै?" उस्ले मोटरसाईकल लिएर आएको थिएन, त्यसैले सोधें।
"छ, नभए त बर्बाद भै गो नी" उस्ले भन्यो।
"भरे तिर जाउँला नी त --" मैले भनें।
"४ बजे आउँछु म उसो भए-- तँ ठिक परी राख" भन्दै बाङ्गे जान उठ्यो।
"अनि गुम्बेलाई बजाउने कैले त?"
"किन?" उस्ले ढोका नजिकै पुगेर सोध्यो।
"हिंजो हनुमानढोकाको बबाल बिर्सीस? त्यस्तो नभा नभा कुरो गर्दै हिने पछि सम्झाउन परेन? --झ्यालिन्चा फेरी उस्तै -- तर सुरु गरेको त गुम्बेले रे छ --" मैले भनें।
"त्यस्तो पुरै नभा कुरा गर्या नी हैन गुम्बेले -- काँबाट तीँ पुग्या रे छ नी फेरी --" हलुका मुस्कान अनुहारमा ल्याउँदै बांङ्गेले भन्यो।
"भन्या के नी?" मैले सोधें।
"केई न केई, ल भरे ४ बजे आउँछु त्यै बेलाँ कुरा गरम्ला" भन्दै उ निस्क्यो।-----
आफु पनि भोजन पछि बाउको भरोसा थाम्न गैयो।
पछि साढे तीन जति बज्या थ्यो होला--किस्न पाउरोटीको बिज्ञापन आउँदै थ्यो -- म नै बाङ्गे कहाँ जानु पर्यो भनेर जाँदै थिएँ --छ्याक र ट्वाकलाई भेट भो।
मलाई देख्ना साथ छ्याकले भन्यो, "बुझीस, ट्वाकले प्याकमारा पार्दियो नी"
"के?" मैले सोधें।
"गुम्ब्या गाला" छ्याकले हाँस्दै पिच्च थुकेर भन्यो।
मैले ट्वाक तिर हेरें।
"नभा कुरा गर्दै हिन्न त हुन्न नी -- अब गर्दैन।" ट्वाकले हाँसेर भन्यो।
मलाई के भनम के भनम भो।
नारनजात्राको रथको पाँग्रा राख्ने पाटी नेर पुग्या थिम, बाङ्गे आयो मोटरसाईकलमा।
"गुम्बेलाई दिएछ दनक ट्वाकले" मैले भनें।
बाङ्गेले ट्वाक तिर मिलाउनलाई हात बढाउँदै भन्यो "ठिक गरीस"।
हात मिलाए पछि बांग्गेले खल्तिबाट पान्सेपचपन्नको बट्टा झिकेर ट्वाकलाई दिंदै भन्यो "ल तिमीहरु यो तान्दै गर --बाँकि हामी फर्के पछि सुरु गरम्ला" अनि म तिर हेर्दै भन्यो "बस"
"कता नी?" छ्याकले सोध्यो।
"ससुराली" बाङ्गेले मोटरसाईकल बढायो। मैले पछाडी फर्केर हेर्दा, ट्वाक हाँस्दै थ्यो। .....