शनिबारको दिन, पशपती जानै पर्यो। त्यतै बाट धोबीखोला तरेर लागियो कुतुबाहल तिर। ....
पशपति तिर जाँदा आउँदा मनोरन्जनहरु बाटा भरी अनि मन्दिरमै पनि टन्नै भएकोले मन त्यतै तिर अलमलियो। फर्किदा उही भण्डारखाल तिरबाट आईयो। त्याँ सेतो ढिस्काँ आएसी मैती देबी देखि स्वयम्भु सम्म हेर्दै चुरोट तान्ने चलन परापूर्बकाल देखि चलिआएकै थ्यो। त्यो बिहान पनि धर्म थामियो।
कालोपुलबाट पस्चिम लागेर मालिगाउँतिर दाहिने मोडीए पछि पहिलो देब्रे घुम्ती आउनु अघि दाहिने तिर यसो एक दुई खुडकिला ओर्लेर जाने बाटोमा अलिपर तिर आँखा सधै झै गए अनि रित्तै फर्किए। बोरै भो। क्षतिपूर्ती त गर्नै पर्यो भनेर मालीगाउँबाट बालमन्दीरको पस्चिम-उत्तरढोका तिर जाने बाटोमा अलि मास्तिर सम्म पुगेरै भए पनि, नजरबन्धनमा एक दुईटीलाई पारीयो अनि फिर्ता आईयो।
मालीगाउँबाट हलुका त्यो उकालोलाई पछी पार्दै कोटालटोल आईपुगियो। अनि बाटा छुट्टीए हाम्रा। अघि ट्वाक सँग गरेको मार हान्ने कुरालाई अघि बढाउनु पर्ने थ्यो, त्यसैले ट्वाकलाई भात खाएर मकहाँ आउन भनें।
घर फर्किदा बाङ्ग्या घर तिरबाट आएँ। मोटरसाईकल थिएन घरमा। उस्लाई बोलाउन चै गईन।
भोजनको कार्यक्रम सकाएर कौसीमा बस्या एक छिन जस्तो भा थ्यो, ट्वाक र सुपारी आएको देखें।
उनीहरुलाई आफ्नो कोठामा अगुबाई गरीसके पछी, ढोका लाईसकेर मैले फेरी ट्वाकलाई सोधें "बन्दोबस्त गर्ने हैन त?"
"मलाई के सोध्छस? तैले गर्ने भन्छस भने गर्ने, हतियारको जिम्मा मेरो भो, तर पछि बवण्डर उठ्यो भनें चै मलाई था छैन" उस्ले भन्यो।
"गर्ने भने पछि गर्ने गर्ने नी अब --" मैले भनें।
सुपारी अलमलिए झै देखियो। "यसलाई भन्या छैनस?" मैले सुपारीलाई देखाउँदै ट्वाकलाई सोधें।
"छैन, तेरो कुरा तैं भन्न न" ट्वाकले भन्यो।
मैले सुपारीलाई पनि मेरो कुरा जानकारी गराएँ। उस्ले प्रतिबाद गर्छ भन्ने थाह थ्यो। गर्यो पनि। "थुक्क, तिमीहरु जस्तो पनि साथी हुन्छ --म भन्दिन्छु बाङ्गेलाई" भन्यो। मलाई सुपारीको पीर थिएन। ट्वाकले माने पछी सुपारीको बिरोधको कुनै माने थिएन। बाङ्गेलाई त उस्ले भने पनि नभने पनि थाह भैहाल्थ्यो, ढीलो चाँडोको कुरा न हो। त्यस्को मलाई डर थिएन। बाङ्गेले पछार्न हुने, मैले चैं छिर्के लाउन किन नहुने?
सुपारीले उस्को असन्तुष्टी फरक फरक तरीकाले भट्ट्याईरह्यो।
ट्वाकले म तिर हेरेर हाँस्दै भन्यो, "ए दीप, त्यो अस्ति तैले मलाई कता पढ्या भन्या जोक थ्यो नी-- हो त्यो सुपारीलाई मिलार भन्दे त --हाम्रो सुपारीलाई हीरो बनार"
"पर्या छैन" सुपारीले सुन्दै नसुनी भन्यो।
"पैला सुनेर त हेर -- ल ल भन दीप" ट्वाकले भन्यो।
मैले सुपारी तिर हेर्दै भनें---"तेरो बे छिनेको रे -- अब लभ सभ त तेरो पर्ने हैन-- डाईरेक बे मा तँ, बुझिनस सुपारी? अब तेरो बे छिन्ने भने पछि हामी सबै गईम रे--मजा त हुने नै भो -- गाँठ साँठ नी आयो -- त्यसपछि जन्ती जान भनेर पुरा सुट सुट सिलाईसके पछि एक दिन तँ सँग भेट हुँदा तँ त पुरा उदास रे क्या -- एकदम सेन्टी, अनि के भो? भनेर तँलाई सोध्या त "मैले छिन्या बे क्यान्सील गर्दें भन्या रे" तैले -- अनि हाम्ले चैं किन? भनेर सोध्या तैले चै केटीको बारेमा त्यस्तै कुरा सुनें भनीस रे -- अनि के कुरा भनेर हाम्ले सोध्या "केटी कुमारी छे रे" भन्या रे तैलें--अनि हामी त झन छक्क पर्या रे --त्यो त झन राम्रो नी भनेर हामीले भन्दा तँ पुरा स्याड भएर हैन --चुरोटको लामो सर्को तानेर के "के को राम्रो? त्यो तरुनी अहिले सम्म कसैकी हुन सक्या रैन्छे, अब मेरी के होली र? भनेर क्यान्सील गर्या भन्या रे हैन?"
ट्वाक हाँस्या हाँसेई थ्यो, मलाई पनि हाँस उठीराथ्यो -- सुपारीमात्रै मलाई र ट्वाकलाई पालै पालो घुरेर हेर्दै थ्यो। पछी त उ पनि हांस्यो।
कार्यक्रम तय भयो। ट्वाकले जानकारी मलाई दिने, मैले त्यो जानकारीलाई उपयोगमा ल्याउने। सुपारीको असंलग्नताको बयान परेको खण्डमा मैले र ट्वाक दुबैले दीने।
चिया खाईसकेर ट्वाक र सुपारी बाटो लाग्नेभए। साँझ तिर भगबतीबहालमा मिक्स चाट खाँदै थप कुरा गर्ने तय भो। उनीहरु ट्वाकको काम छ रे कालीमाटीमा भन्दै टीबीको बहानमा सवार भए। मलाई नी हीन हीन भन्दै थिए, आनन्दले एक निन्द्रा सुत्न छोडेर बिनाबित्थामा साईकल सवारीमा के गै भो र भन्दै भैगो भनें। तरुनी भा घराँ जान ला भे त जान्थें म नी, तर रडको भाउ बुझ्न जान ला रे -- त्यस्तो काममा नी जान्छ कोई सुत्न छोडेर? एक झप्को सुत्न पाईयो भने बरु, सपनामा तरुनी आउने बलियो सम्भावना थियो।
हुन त केही पनि भैसक्या त थिएन तै पनि फत्तेमानको यस्तो पनि हुँदो रे छ जिन्दगीमा कैले कैले भन्ने गीत बजाएर सुतान दिनु पर्यो भनेर ढल्केको मात्रै के थिएँ, बाङ्गे आईपुग्यो।
'ओहो, बाङ्गे महाराज सबारी होस। सुदामा कहाँ किस्न काँबाट नी आज?" मैले स्वागत गर्दै भनें।
"तेरै काममा लागि रा थें, धन्यबाद भन्नु त कता हो कता अझ स्याटर हान्दा त ---" कोठा भित्र पस्दै उस्ले भन्यो।
"के काम मेरो?" मैले सोधें।
उस्ले गीत बन्द गर्दै भन्यो "ह्या ट्र्याजीडी नै नपरी यस्तो गीत के सुन्या?"
"अब ट्र्याजिडी पर्न पैला लभ पर्नु परेन?" मैले उस्लाई सोधें।
"हो म तेरो त्यै काममा लाग्या थें" उस्ले चुरोट झिक्दै भन्यो।
"अब मेरो लभ पनि तैं गर्दिने?" उस्ले झिक्या चुरोट मैले लिंदै भनें।
"भन्छ्स भने त्यो पनि गर्दिम्ला, साथीको लागि ज्यानै त दिनु पर्छ भन्छन" उस्ले अर्को चुरोट झिकेर सल्काउन खोज्दै भन्यो।
"यहाँ कोठाँ चुरोट सल्काउने सपना चै नदेखे पनि हुन्छ, हेर बाङ्गे।" मैले लाईटरको सट्टा डाईलग दिएँ उस्लाई।
ओठमा च्यापिसक्या चुरोट झिक्यो उस्ले। भन्यो "यार त्यो तरुनी थिईन?"
"को निशिन्ता?" मैले सोधें।
"यो दुनियाँमा निशिन्ता मात्रै छे तरुनी? कस्तो खत्तम रेछस यार तँ त, कमसे कम मैले मेरी भन्या लाई त छोडदिनु पर्छ नी -- उसैलाई जपेर बसीराछस कि के हो?" उस्ले हाँस्दै सोध्यो।
"निशिन्ताको के छ हालखबर?" उस्ले गर्या टीप्पणीलाई मैले बेबास्ता गर्दै सोधें।
"बल्ल बादल बाट निस्क्या छ घाम, अब चै घमाईलो पनि अनि रमाईलो पनि होला जस्तो छ।" उस्ले भन्यो।
"अनि म चै के गर्ने नी? तेरो आकासमा भएको घामले न मलाई घमाईलो न रमाईलो" मैले भनें।
"तेरो सिरक तरुनी थिईन, त्यो निशिन्ताको काकाकी छोरी रे, बुझिनस?" बाङ्गेले सुनायो।
"काकाकी होस की मामाकी होस, हात लाग्या हैन आफ्नो" तरुनीलाई सम्झिंदै मैले दीक्क मानेर भनें।
"म कोशीश गर्दै छु पख न --" बाङ्गेले भन्यो।
"कस्को लागि कोशीश गर्दैछस?" मैले सोधें।
"तेरो लागि नी अब, अरु कस्को लागी?" उस्ले भन्यो।
अब एक्कै चोटी अर्को हप्ता आएर मलाई, " तेरो त ट्र्याजीडी पर्यो यार भन्ने हो कि तैलें? सोधें।
"काँ ट्र्याजीडी? दीदी बैनी ब्या गर्नु पर्छ, ससुराली संगै जानु पर्छ।" भन्दै बाङ्गे उठ्यो।
"कता नी अब?" मैले सोधें।
"यो तरुनीको चक्करमा लागेर सबै भद्रगोल भो--- घराँ बास भएन रे भनेर बाउ आमा ताती राछन, एक छिन घराँ पनि त बस्नु पर्यो नी।"
"ए तैले त ट्युसन पनि थालिस रे हैन?" मैले उस्लाई सोधें।
उ हाँस्यो मात्रै।
उ ढोकाबाट निस्किन लागेको थ्यो, मैले सोधें "त्यो मैले चै बे गर्ने भन्या तरुनीको नाम के नी? "
उस्ले हाँस्दै भन्यो, "थाह पाई हाल्छस नी पछी"
"बेको निम्ता कार्ड हेरेर थाह पाउनु पर्यो भने त बोरै हुन्छ नी" मैले भनें।
उ ढोकाबाट निस्कियो। म चोक सम्म संगै आएं।
मोटरसाईकल बसेर भन्यो "म भरे आउँछु, घरमै बसीराख। जरुरी काम छ--"।
उ गएको मैले हेरी रहें। ----