उनीहरु गएको हामीले हेरी रहेम। उनीहरुले जति चोटी फर्केर हेर्दा पनि उनीहरुलाई हाम्ले निरास गरेनम। ----
जति जति उनीहरु पर जाँदै थिए, रात उती उती बढदो थियो। उनीहरुले फर्केर हेरेको बेला बादलबाट जुन निस्कीन्थ्यो नभए उही बादल लागेको रात छिपिन्न्थ्यो। जब उनीहरु ओझेलमा परे, मलाई लाग्यो अध्याँरोले मध्यरातको सिमाना काट्यो। रात त अझै पनि रात नै हो तर बिहानी रात। बिहानी रातमा अध्याँरो बढ्दैन। बढेर आउने उज्यालोले घटेर जाने अध्याँरोलाई पश्चिम आकास तिर बाटो देखाउँदै जाने क्रम नै त बिहानी रात हो।
अहिले उनीहरु जाँदा उनीहरु मात्रै गएका थिएनन्, हाम्रा बिच्किएका मन पनि उनीहरु संगै गएका थिए। आफ्नो मात्रै मन सँग बस्न बानी परेका थिए होलान उनीहरु। अनि उनीहरुको त्यै आफ्नै मन पनि अचेल दिन प्रतिदिन चन्चल हुँदै गएको बेला झन हाम्रा बिच्किएका पनि मन उनीहरुका छचल्किएका मनलाई जिस्काउन पुगे पछी सुन्दरीहरुलाई रहरको शरणमा नपुगी उपाय थिएन। यथार्थ र चाहना एउटै नभएको बेला रहर नै त्यस्तो भाव हो जस्ले चाहनालाई साथ दिएर यथार्थलाई पराजित गर्न नसके पनि ओझेलमा भने पार्न सक्थ्यो।
"तरुनीहरु लस्के पछी त भुस्याहा कुकुरहरुले समेत हेप्न थाले यार ---" भुक्तै आएका दुईटा भुस्याहा कुकुरहरु तिर हेर्दै बाङ्गेले भन्यो।
हामी मोटरसाईकल भए तिर फर्किम।
अघि आफ्नो बिच्किएको मन तरुनीलाई जिम्मा लाई हालें, अहिले सुन्य मन लिएर फर्किंदा पो अनुभव गरें आफ्नो मन उस्लाई जिम्मा लगाएर मैले गल्ती गरें। बोलाएँ धेरै चोटी आफ्नो मनलाई, उ त उतै पो रमाएछ। आउँदीन भन्यो। अब त आफ्नो पनि रहर बाहेक अर्को उपाय थिएन।
"मैले दिउँसो के भन्या थें तलाई? तैंले चै एक दुई दिन म बेपत्ता भएँ र छेड हान्या हैन मलाई?" बाङ्गेले गर्जिए झै गरी भन्यो।
म हाँसे मात्रै। के नै भन्नु थ्यो र? उस्ले मलाई जितेको थ्यो।
"मेरो आफ्नै मात्रै भए त उही बेलाँ मिलिसक्या थ्यो, तेरो पनि मिलाउनु पर्ने भएर ट्याम लाग्या" बाङ्गेले थप्यो।
"दीदी बैनी नै क्या करेल करेल है?" मैले भनें।
"पूर्ब जन्ममा राम्रै पूण्य गरीया रैछ क्यारे --" उस्ले चुरोट झिकेर सल्काउँदै भन्यो।
"अब यो जन्ममा नी सुरु गर्नु पर्यो पूण्य गर्न, फल त राम्रै पाईन्छ जस्तो छ। हुन त चाख्न पा छैन तै पनि सरसरती हेर्दा --" मैले पनि चुरोटको सर्को संगै भनें।
बाङ्गेले हल्का हाँसेर भन्यो, "मैले त सुरु गरी सकें, अब तँ पनि ढिलो नगर"
मैले "के?" भनेर सोध्या उस्ले पूण्यको काम भन्यो।
"तैले सुरु गर्या पूण्यको काम चै के नी?" भनेर सोध्या "तँलाई त्यस्ती राम्री तरुनी मिलाईदेको के त? अझ के भनेर सोध्दा त-- बैगुनी" भन्यो।
मोटरसाईकल लिएर हामी फेरी त्यै बाटो फर्किम। निशिन्ताको घर तिर हेर्दै बाङ्गेले भन्यो "तरुनी भए पछि घरै राम्रो देखिने है?"
"मेरो पनि ससुराली देखान त अनि हो हैन भनम्ला म पनि" भन्या, "यो बाटो बाट देखिदैन भित्र जानु पर्छ --अब लाने भए उसैले लान्छे म सक्दिन" भन्यो। बोरै भो।
"आज त मनाउनु पर्ने दिन हो बाङ्गे" भाटभटेनी नेर आईपुगे पछी पसलमा बेच्न राख्या रक्सी सम्झिदै मैले भनें। "त्यो त हो तर बाउ घरमै छ आज--पर्सी मनाउने बिचार गर्या छु मैले। ट्वाक सुपारी छ्याक झ्यालिन्चा सबैलाई भेला पारीराख पर्सी।" उस्ले भन्यो।
"किन र भोली के भो?" मैले सोधें। पर्सी भन्दा त हिंजै पैला आउँछ नी।
"भोली पनि मनाउने हो तर सुन्दरीहरु सँग मात्रै" बाङ्गेले ढल्कुमा मोटरसाईकल रोकेरै भन्यो।
म अलमलिदै थिएँ, बाङ्गे मुसुक्क हाँसेर भन्यो "भोली भेटनलाई बल्ल बल्ल मनाछु अघि मैले निशिन्तालाई। उसलाई साँझ पर्नु अघि नै घर फर्किनु पर्छ रे, मैले हुन्छ भन्दें।"
"अनि अर्कि चैं?" मैले सोधें।
"निशिन्ता एक्लै आउँदीन, अर्किलाई पनि लिएर आउँछे, दीदी बैनीलाई सँगै आउन पनि सजिलो घरमा भन्न पनि।" बाङ्गेले सुनायो।
मेरो नी आशमा सास आयो। "अनि काँ भेटने नी भोली?" भडकिदो मुटु संगै मैले सोधें।
"त्यो म भोली दिउँसो सम्म पक्का गर्छु --- अनि तँ भोली फेरी छ्याक सँग बोडी र चिउरा खान जाने हैन नी रातो पुल तिर।" उस्ले भन्यो।
"अब किन जान्थें? दशा लाग्या छ र?" मैले दंग पर्दै भनें।
मलाई घराँ छोडेर उ गयो। सधै आएको आफ्नै घर हो, तर आज आउँदा बेग्लै रमाईलो लागिराथ्यो।
भित्र पस्ना साथ काकाले भने "तेरा गणहरु आ थे अघि दुई दुई चोटी"
"को?" मैले सोधें।
"को हुन्थ्यो? ट्वाक र उस्को हल्दार" उनले भनें।
उनले सुपारीलाई ट्वाकको हल्दार भन्थे।
"छिट्टै आएछन क्या रे रडको भाउ बुझेर अनि भगबतीबाल जानु अघि आ होलान, अनि म भगबतीबालाँ नआ देखेर फेरी बुझ्न आ होलान।" मनमनै गुन्दै म भान्छा तिर लागें।
भातको बन्दोबस्त गरीसके पछी कोठामा आएँ। मन अघि भन्दा झन धेरै अधीर हुन खोज्दैथ्यो।
बाङ्गेकाँ जाम जाम लाग्दैथ्यो। उ सँग गएर धेरै कुरा गर्न मन लागेको थियो तर गईन। उस्को घराँ पुग्दा बाउ-आमा जाँतो जसरी फन्किरारैछन भने फेरी मलाई नी पिस्लान भनेर घरै बसें। गीत सुनेर ढल्किएँ। आँखामा उही तरुनी, मनमा उही, दिमाग उही। जताततै उस्कै जगजगी थ्यो। उसैले जितेकी थिई। हार्दा त्यस्तो रमाईलो कहिल्यै भा थिएन होला।
एक एक मिनेट बिताउन पर्लय जस्तो थ्यो, बिउँझेर रात बिताउनु सम्भवै छैन जस्तो। सुत्न निन्द्रा उसैकाँ पुग्या थ्यो। आकै हैन। बल्ल बल्ल मेरो छटपटी बुझिछ क्या रे कुन बेला, पठाईदिई छ निन्द्रा। बिहान त उठ्ने बित्तिकै बालुबाटार जाम जाम लागि रा।
सरस्वती सदन तिर जानु अघि, ट्वाक कहाँ गएँ, भेट भएन। सुपारी पनि थिएन घरमा। सुपारीको घराँ उ ट्वाककाँ गाछ भने ट्वाककाँ सुपारी आ था छैन भनें। ट्वाकलाई नभेटी भा थिएन, त्यसैले उस्लाई घर आए पछी म कहाँ पठाईदिन भनें। तीन बजे तिर आईपुग्थ्यो उ घराँ। उ सँग कुरा गरेर म बाङ्गे सँग जान भ्याउँथें।
सरस्वती सदनाँ उसै त मन नलाग्ने झन आज त के लाग्थ्यो? तरुनीको सम्झनाले काउकुती लाएदिएर बिजोग भो आफ्नो। घराँ बेलै मा आएँ। फर्किदाँ बाङ्गेको घर तिर बाट आ थें। उस्को मोटरसाईकल थिएन। उ कहिले आईपुग्ला जस्तो भो।
तरुनी सँग आज के कुरा गर्ने, के के हुने हो त्यस्को धुन श्रीको सिसी खाली भैसक्या पछीको जसरी चढ्दो थ्यो।
दशैमा किन्या च्यांग्रा जस्तो भाको थ्यो समय। म छिटछिटो घिच्याउन खोज्ने, उ सर्न पटक्कै नमान्ने।
सबा तिन जति बज्या थ्यो होला, बाङ्गे आईपुग्यो। उ आईपुग्दा त्यस्तो खुसी बिरलै लाग्थ्यो।
"जाने हैन त?" म त तयारै थिएँ।
"भट्टीमा गए मात्रै हो अब" उस्ले उदास स्वरमा भन्यो।
"के भो?" मैले सोधें। मनै खल्लो भो।
"म नी त्यै पत्ता लाउन खोज्दै छु--के भो के भो" उस्ले भन्यो।
"भन्या? भेट भएन निशिन्ता सँग?" मैले फेरी सोधें।
"भेट त किन नहुनु? --म जस्तो मान्छे त उस्ले कोही चिनेकी पनि छैन रे --मैले प्रज्ञालाई धोका दिएँ रे के के भन्या हो के के --"
"को प्रज्ञा?" मैले सोधें।
"मलाई के था?" उस्ले भन्यो। "अब उ नभेटने रे मलाई--भयो कि?" दिक्क मान्दै उ मेरो ओछ्यानमा बस्यो।
"अनि अरु के भनी त?" मैले सोधें।
"के भन्नु? मेरो जिन्दगी सुखमय होस रे -- शुभेक्षा छ रे उस्को मलाई" ओछ्यानमा डंगरंग लडदै सुनायो बाङ्गेले।
म त रन्थनिएँ।
त्यै बेलाँ ट्वाक मेरो कोठामा आयो। म र बाङ्गे दुबैलाई हेर्यो, अनि बाङ्गे तिर हेर्दै हाँसेर मलाई सोध्यो "के भो यसलाई?"
"के हुन्थ्यो, सेन्टी भो नी --प्रज्ञालाई धोका दियो रे" मैले भनें।
ट्वाक मलाई हेरेर मुस्कुराई रह्यो।