.....
"बाउको भर परेर को बस्या छ र -- बाउले लभ पार्देलान र लभ गरम्ला भनेर बस्यो भने त गएन जिन्दगी?--आफै त बाउ-आमाले खोज्या केटी संग त्यो पनि हेर्दै नहेरी ब्या गर्या रे हाम्रा बा ले --त्यस्ताले के गर्दिन्छन मलाई?" उस्ले भन्यो।
"कस्को भर पर्या छस त?" सोधें।
"त्यै तरुनीको नी, कस्को अब?" उसमा उत्साह बढदो थियो।
"त्यो तरुनी चैं कस्को भर पर्या छे कुन्नी -- अनि जस्को भरमा तरुनी पर्या छे उ फेरी कस्को भर पर्या छ होला--हँ बांग्गे? मुक्कदरका सिकन्दर हेर्याछस हैन? दिलाबर होलास नी दिलाबर---हुन त सिकन्दर नै भए नी हात लाग्यो त सुन्ना हो" मैले हाँसेर भने।
"के रे?" बाङ्गे झर्कियो।
"हैन जोहराबाईको कुरा गर्या के मेमसाबको हैन -- दिलाबर जोहरा जोहरा भन्ने, जोहरा सिकन्दर सिकन्दर दिने, सिकन्दर मेमसाब मेमसाब बर्बराउने, मेमसाब उता बिशाल बिशाल रे --"
मलाई कुरा पुरा गर्न दिएन बाङ्गे तात्यो "आफु चै यहाँ आफ्नो सब भन्दा पक्का साथी भनेर मनको कुरा सुनाउन आ -- उ चै सपोर्ट गर्नु त कता हो कता सुरुमै तातो न छारो सिनेमाको कुरा झिकेर अलच्छिन लाउन खोज्दा त ---"
"के गर्छस त?" मैले हाँसेर सोधें।
"मैले गरीमालाई चिन्या छैन र?" उस्ले पनि हाँसेरै जबाफ दियो। उस्को जबाफले म गम्भिर भएँ।
"ल ल मैले के गर्नु पर्यो त?" सोधें।
"सुत्र लाउनु पर्यो नी अब --" उस्ले भन्यो।
निक्कै बेर सम्म अनेक थरी कुरा भयो। अनि उ र म निस्कीएम घरबाट। सुपारीलाई भेट भो लामढुङ्गा नेर। ट्वाकलाई पनि बोलाएर लागिम बिशालनगर तिर।
बिशालनगरबाट चण्डोल तिर हुँदै बरालिँदै चक्रपथ सम्म पुगियो। बाङ्गेले तरुनीको गफ ट्वाक र सुपारीलाई नी सुनायो। पाँचसेपचपन्न, बिदेशी ट्वाँट, निर्धक्क चिया चमेनाको प्रायोजक बाङ्गेका कुराहरुलाई हाम्रो टोलीले निरुत्साहित गर्ने कुरै थिएन।
उस्का कुराहरु प्रति नकारात्मक टिप्पणी गरेर हामीलाई फाईदा नै के थियो र? त्यो तरुनी उस्ले नपाए हाम्रो हात लाग्ने थिईन। हाम्ले त देख्या समेत थिएन। पाए उसैले पाउँथ्यो नपाए पनि हाम्रो प्रायोजनको कार्यक्रम बाङ्गेले सुचारु रुपले चलाईहाल्थ्यो। हामीले "हो हो बांग्गे, गर्नु पर्छ, तैले नगरे कस्ले गर्छ? केही परे हामी छम नी" सम्म भन्ने हो। त्यसो भन्न एक पैसा लाग्दैन थ्यो।
भोली पल्ट दिउँसै बांग्गे मोटरसाईकल लिएर म कहाँ आयो। कौसीमा थिएँ म। छक्क परें। उ एक्कै सासाँ माथि आईपुग्यो। "यस पाली चै हुन्छ केही न केही त" उस्ले दंग पर्दै भन्यो। म चैं उस्कै मोटरसाईकल हेर्दै थिएँ।
उस्ले के हुन्छ भन्या हो त्यो प्रति भन्दा पनि मेरो ध्यान चै त्यै मोटरसाईकल तिर थ्यो। सोधें "काँ बाट भेटीस नी यो मोटरसाईकल? घराँ आ पाहुनाको हुँईका हो कि क्या हो?"
"काँ पाहुनाको? आफ्नै हो" उस्को अनुहारमा खुशी अरु चम्कियो।
हिँजो सम्म त उस्को मोटरसाईकल थिएन। बाउले किन्दीने बारेमा पनि चालचुल थिएन। आज एका एक?
"के बाउले किन्दिए?" मैले सोधें।
"किन्दन्छन बाउले काम नपार -- नचाहिया उपदेश दिनु पर्यो भने चैं तिन बित्ता उफेर दिन्छन --चाहिने कुरा माग्यो भने पनि यता उता गर्यो त्यै उपदेश दिन्छन। झिंजो लाग्ने गरेर। सडक-बत्तिको खम्बा मुनी पढेर त्यो ठुलो मान्छे भयो रे भन्दैमा सबैले बत्तिको खम्बा मुनी नै गएर पढ्न त पर्दैन नी--" बाङ्गेले सुनायो।
"कस्ले पढ्या सडकबत्तिको खम्बा मुनी? तेरो बाउले?" कुरा प्रस्ट गरेन बाङ्गेले।
"काँ मेरो बाउले? कस्ले हो उनी केटाकेटा हुँदा त्यो कहानी सुनाईदेको रे छ -- एउटा हरीतन्नमले सडकबत्तिको खम्बा मुनी पढेर ठुलो मान्छे भयो रे भनेर --ए अनि त--यसो उसो गर्यो -- गर्नेले त्यसरी बत्तिको खम्बा मुनी पढेर नी गर्छन नगर्नेलाई जति सुख-सुबिधा दिए नी केही न केही भन्दै मलाई छेड हान्या छ हान्या छ -- "
"मोटरसाईकल काँ बाट आयो त?" मैले फेरी सोधें।
"ह्या कसलाई के धुन कसलाई के धुन -- आफु तरुनीको कुरा गर्न आइराछु --उ चैँ मोटरसाईकल मोटरसाईकल भनेर मर्नै लाईसक्यो" बाँगेले म तिर घुर्दै भन्यो।
मैले केही भनीन। उसैले थप्यो केही क्षणको मौनता पछि "हिंजो बाउको अफिसको मोटर के भएछ कुन्नी --बाउ मोटरसाईकल लिएर आ थिए --आज फेरी अफिसको मोटर आएछ त्यसमै गएछन। अनि मोटरसाईकल घरमै थियो। साँचो भेट्टाए पछि कुदाउनु परेन?"
"रातो नम्बर प्लेट छ नी त" मैले अलि बिस्तारै भनें, उ झर्किने हो की भनेर।
"अँ रातो त रातै छ तर अफिसको हो -- रातो भा झन राम्रो नी -- ल हिन तरुनी गस्तीमा जाम" उस्ले साँचो दाइनेहातको चोर औलामा घुमाउँदै भन्यो।
मोटरसाईकल लिएर एकै छिनमा, बालुबाटार अनि माराजगन्ज पुगिम। त्याँ प्याराको अगाडी पुगे पछि, तालिम केन्द्रको पुलिस सम्झेर होला उस्ले मोटरसाईकल मोडायो, अनि फेरी बालुबाटार तिर आईयो।
"यता हामी मडारीनुको कारण के नी?" मैले सोधें।
"त्यो तरुनीको माईती यतै हो रे के -- " उस्ले भन्यो।
"माईती रे?" म छक्क परें। कुन तरुनीको कुरा गर्या हो म त अलमलमा परें।
"अँ माईती" उस्ले भन्यो।
"अनि घर चैं? त्यसको लोग्नेले भेट्टायो भने?" मैले अझै अलमलिएरै सोधें।
"लोग्नेले भेट्या छैन, खोज्दै छ -- घर चै हाँडीगाउ --" बांगेले हाँसेर भन्यो।
बल्ल बुझें। उ त आफ्नै कुरा पो गर्दै रे छ। उ भबिस्यमा रे छ म बर्तमानमा।
त्यस्तो हावातालाँ तरुनी सँग के भेट हुन्थ्यो? भएन। बाउ आउनु अघि नै मोटरसाईकल फिर्ता राख्नु पर्ने फेरी उस्को। फर्किम।
त्यसको एक दुई दिन सम्म बाङ्गे र मेरो भेट भएन। उ मेरो घराँ नी आएन, म उस्काँ जाँदा पनि भेट भएन।
अर्को दिन ट्वाक र म उस्को काम छ रे भनेर लाजिम्पाट-खुर्सानीबारी तिर जौँदै थिएम। उस्ले पनि बाङ्गेलाई नभेट्या एक दुई दिन भा रे छ --- बाँगे त्यसरी गायब हुने मान्छे हैन। के चै गर्दैछ त्यसले भन्दै हामी कुरा गर्दै हिन्दै थिम -- वालुवाटार तिरबाट बत्तेर एउटा मोटर साईकला आयो। कानै खाने गरेर हर्न बजायो अनि बत्तियो गैरीधारा तिर।
ट्वाक र मैले हेरा हेर गरीम। दुईटैको एउटै प्रस्न थ्यो। "बांग्गे हैन त्यो?" त्यो भन्दा ठुलो अर्को प्रश्न थ्यो हाम्रो "अनि त्यो पछाडी बांगेलाइ च्यापेर बस्या तरुनी को नी?"
....